राजा वीरेन्द्रको वंशै नाश हुने गरी दरबार हत्याकाण्ड भएको आज (आइतबार) १८ वर्ष पूरा भएको छ।
२०५८ साल आजैका दिन अर्थात् जेठ १९ गते नारायणहिटी दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित उनका सबै सदस्यको हत्या भएको थियो।
गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र अधिराजकुमार धीरेन्द्र शाहको हत्या भएको थियो।
घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते भएका थिए।
जेठ १९ लाई नेपाली इतिहासमै कहालीलाग्दो दिनका रूपमा लिने गरिन्छ।
घटनाको छानबिन गर्न तत्कालीन सरकारले गठन गरेको समितिले तयार पारेको प्रतिवेदनले गोलीकाण्ड तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेको थियो। तर यसलाई धेरैले पत्याएका छैनन्। अहिलेसम्म त्यो हत्याकाण्ड कसले र किन गर्यो भन्ने वास्तविकता अझै रहस्यकै गर्भमा छ।
सरकारले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रतिवद्दता जनाए पनि अहिलेसम्म कुनै कदम चालिएको छैन।
वीरेन्द्रको वंश नाशपछि ज्ञानेन्द्र शाहले सम्हालेपछि राजतन्त्र धेरै समय टिक्न सकेन। ज्ञानेन्द्र शाह नै नेपालको अन्तिम राजा बने।
माओवादी शसस्त्र युद्ध र ६२÷६३ को जनआन्दोलनपछि नेपाल गणतान्त्रिक मुलुक घोषणा भयो।
प्रतिक्रिया