प्रचण्डको अभिव्यक्तिले नेकपामा भूकम्प

७ बर्ष अगाडि

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले ‘आलोपालो सरकार चलाउने’ सहमतिको प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएपछि पार्टीमा नयाँ तरङ्ग पैदा भएको छ । एक वर्षअघि एकीकरणको क्रममा भएको भनिएको सो सहमतिको पत्रनै सार्वजनिक भएपछि पार्टीमा तङ्ग पैदा भएको हो ।

बुधवार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रचण्डले आलोपालो प्रधानमन्त्रीको कुरा गरेका थिए । 

 २०७५ जेठ ३ गते पार्टी एकता भएपछि प्रचण्डले स्पष्ट ढंगले आलोपालो प्रधानमन्त्रीको कुरा अगाडि सारेका छन् ।

‘प्रचण्ड’ले पार्टी एकता गर्ने क्रममा भएको आलोपालो प्रधानमन्त्री हुने सहमतिअनुसार अबको १५ महिनामा आफू प्रधानमन्त्री हुन सक्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सहमति अनुसार नै अघि बढ्नुपर्ने भन्दै दायाँ–बायाँ गर्न खोजेमा कोही टिक्न नसक्ने प्रचण्डको दावी छ । प्रचण्डले पार्टी हेर्ने जिम्मेवारी पाएको खण्डमा ओलीलाई आगामी ५ वर्ष नै प्रधानमन्त्री बनिरहन केही बाधक नहुने समेत बताएका छन् ।

सँगसँगै प्रचण्डले वर्तमान सरकारले सुशासन र विकास दिन सक्यो कि सकेन भन्ने कुराले पनि प्रधानमन्त्री फेरिने कुरा निर्धारण गर्ने खुलासा गरेका छन् । जनताले अपेक्षा गरेको सुशासन र विकास केपी ओली सरकारले नै पूरा गरिदिए आफू प्रधानमन्त्री हुन आवश्यक नभएको उनले बताए । तर हालसम्म जनताका कतिपय अपेक्षा पूरा हुन नसकेकोमा उनी स्पष्ट देखिएका छन् ।

प्रचण्डले भनेको सहमतिअनुसार प्रधानमन्त्री फेरिए त्यसको अर्को गहिरो अर्थ दिनेछ – ओली सरकारले जनताका अपेक्षा पूरा गर्न सकेन । सुशासन र विकासका काम गर्न सकेन । किनकि अन्तर्वार्तामा प्रचण्डको आशय छ – आफू प्रधानमन्त्री हुनुभन्दा पनि जनताका अपेक्षा, सुशासन र विकास मुख्य कुरा हुन् । ओली सरकारबाट बाहिरिने अवस्था आउनु भनेको उनले जनताका अपेक्षा पूरा गर्न सकेनन् भन्ने अर्थ समेत लाग्नेछ । सरकारले अपेक्षाकृत काम गर्न नसके पार्टीमा छलफल भएर प्रधानमन्त्री परिवर्तन हुने प्रचण्डले खुलासा गरे । आफ्नो ‘असफलता’ स्वीकार्दै प्रधानमन्त्री ओली पूर्वसहमति अनुसार सरकारबाट बाहिरिएलान् त ? यो प्रश्नको जवाफ भविष्यले दिनेछ ।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता घोषणा हुँदाखेरी त्यतिबेला तत्कालीन एमालेका उपमहासचिव विष्णु पौडेल र तत्कालीन माओवादीका केन्द्रीय समिति सदस्य जनार्दन शर्माको उपस्थितिमा ५ बुँदे सहमति भएको थियो । सहमतिको चौथो बुँदामा समानता र समान अवधिको आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख गरिएको छ ।

समान अवधिको अर्थ दुवै अध्यक्षले अढाई–अढाई वर्ष सरकारको नेतृत्व गर्ने भन्ने अर्थ लाग्छ । पहिलो बुँदामा जनताको बहुदलीय जनवाद, एक्काइसौं शताब्दीको जनवाद र माओवाद सम्बन्धी राजनीतिक मान्यतालाई परिमार्जन गरी जनताको जनवादका रूपमा अघि बढाउने निर्णय गरिएको छ भने दोस्रो बुँदामा पार्टी एकताका संगठनात्मक सिद्धान्तहरू समान, सम्मानजनक र न्यायोचित हुने उल्लेख गरिएको छ । 

सहमतिको तेस्रो बुँदामा एकता महाधिवेशन नहुने बेलासम्म पार्टीले गर्ने निर्णयहरू दुवै अध्यक्षको सहमति र हस्ताक्षरपछि मात्र कार्यान्वयनमा आउने उल्लेख छ भने पाचौं बुँदामा महाधिवेशनसम्मका लागि ४ सय ४१ जना केन्द्रीय कमिटी र ४३ जनाको स्थायी कमिटी रहने उल्लेख छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया