काठमाडौं – गोरखा भूकम्पका कारण दुबै तर्फको भौतिक संरचनामा क्षति पु¥याएपछि बन्द रहेको तातोपानी नाका आजबाट संचालनमा आउने भएको छ । केही बेर पछि नाका सञ्चालनमा आएको घोषणा गरिनेछ ।
नेपाल–चीन जोड्ने चार वर्षदेखि बन्द रहेको तातोपानी नाका बुधबारबाट औपचारिक रुपमा सञ्चालन हुन लागेको छ ।
भूकम्पले क्षति पु¥याएको तातोपानी क्षेत्रमा २०७३ साउनमा भोटेकोशी नदीले सडक लगायत संरचनामा थप क्षति पु¥याएपछि नाका सञ्चालन हुन सकेको थिएन । उद्योग बाणिज्य मन्त्री मातृका यादवको उपस्थितिमा आज बुधबारदेखि नाका पुनः सञ्चालनमा ल्याउन लागेको हो ।
व्यापारिक दृष्टिकोणले नेपाल चीनलाई जोड्ने पहिलो र प्रमुख नाकाको रुपमा परिचित यो नाका बन्द भएपछि विकल्पका रूपमा रसुवा नाका खोलिएको हो । केही वर्षअघिसम्म यो नाका नेपालमा मालवस्तु भित्रने दोस्रो नाकाको रुपमा थियो । चीनसँग वार्षिक रु २० अर्बभन्दा बढीको आयात र करिब रु तीन अर्बको निर्यात हुने गरेको छ । यस नाकाबाट सामान्य समयमा दैनिक एक सयभन्दा बढी र चाडपर्वमा एक हजारको संख्यामा सामान बोकेर कन्टेनर नेपाल भित्रने गरेका थिए । सरकारको लामो प्रयत्नपछि चिनिया नाका खुल्न लागेको हो ।
यो नाका बन्द भएपछि चीनबाट आयातित सामग्री सस्तोमा उपभोग गर्दै आएका नेपालीले मह्गो मूल्य चुकाउनु परेको थियो । स्थानीय व्यवसायी, राजनीतिक दल, जनप्रतिनिधि एवम् नेपाल सरकारको सर्वपक्षीय प्रयत्नपछि चिनियाँ पक्ष नाका पुनः संचालनमा ल्याउन सहमत भएको हो ।
तातोपानी नाका पुनः सचालनमा ल्याउन चीन सरकारले ६अर्ब अनुदानमा लार्चामा सुक्खा बन्दरगाह निर्माण गरेको छ । साढे चार हेक्टर क्षेत्रफलमा फैलिएको बहुउपयोगी बन्दरगाह नेपाल–चीन सीमाको मितेरी पुलभन्दा साढे ६ किलोमिटर तल पर्छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल इन्टरमोडल यातायात विकास समितिको सहकार्यमा सुक्खा बन्दरगाह निर्माण गरेको छ ।
प्रतिक्रिया