२५ करोड ठगेर सहकारीका कर्मचारी फरार, वचतकर्तालाई आइपर्यो आपत, अब के होला

७ बर्ष अगाडि

काठमाडौं – नेपालगञ्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडमा रु २५ करोड भन्दा बढी अपचलन भएको पाइएको छ । सहकारी वित्तीय संस्थामा कार्यरत केही कर्मचारीबाट ठूलो परिमाणमा रकम अपचलन भएको संस्थाको सञ्चालक समितिले जनाएको छ ।

ग्राहकको करीब रु ५२ करोड मौज्दात जम्मा गरेको संस्थामा रु २५ करोड रुपैयाँ अपचलन हुँदा बचतकर्ताले जम्मा गरेको रकम निकाल्न पाएका छैनन ्। बचतकर्तालाई दिने रकम नभएपछि आइतबारदेखि संस्थाको बोर्ड बैठकले बैंकिङ कार्यालय नै बन्द गरेको छ ।

बचत रकम झिक्न नपाएपछि ग्राहकले आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर आफ्नो बचत फिर्ता गराइदिन जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएका छन ्। सहकारी वित्तीय संस्था लिमिटेडमा एउटै व्यक्तिको रु ३० लाखसम्म बचत  छ ।

सहकारी वित्तीय संस्था लिमिटेड सञ्चालक समितिका अध्यक्ष हरदेव बक्स चौधरीले चाँडै नै ग्राहकलाई आंशिक भुक्तानी भए पनि दिने तयारी भइरहेको बताएका छन् ।

कर्मचारीबाट अपचलन भएको संस्थाको रकम र सोसम्बन्धी पूर्ण अध्ययन गर्न अझै कम्तीमा १५ दिन लाग्ने भन्दै सञ्चालक समितिको शनिबारको बोर्ड बैठकले २६ गतेसम्म बैंकिङ कारोवार स्थगन गर्ने निर्णय गरेको छ ।

संस्थाले ग्राहकको रकम संस्थामा सुनिश्चित रहेको र संस्थाको आन्तरिक हिसाब छिट्टै मिलान गरी संस्था नियमित सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएको छ । २०५१ सालमा स्थापना भएको यो सहकारी वित्तीय संस्था लिमिटेडका तीन हजारभन्दा बढी ग्राहक छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया