मोरङ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले गृह मन्त्रालयमा उजुरी दिनुभएको छ । मन्त्री यादवले गृहमन्त्रालयमा चिनी उद्योगविरुद्ध उजुरी दिनुभएको हो ।
मन्त्री यादवले सोमबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग संक्षिप्त कुराकानीमा ‘चिनी उद्योगीले उखु किसानको वक्यौता रकम फिर्ता नगरेको भन्दै’ आफूले गृह मन्त्रालयमा निवेदन दिएको जानकारी गराउनुभयो ।
‘नेपालको इतिहासमा किसानको पक्षमा एउटा मन्त्रीले गृह मन्त्रालयमा निवेदन दर्ता गराएको यो पहिलो घटना हो’ उहाँले भन्नुभयो, ‘किसानको रकम भुक्तानी गराउन पहल गरिदिन गृहमन्त्रालयमा निवेदन दिएको छु । त्यसबारेमा केही दिनपछि गृहसँग जानकारी माग्छु ।’
मन्त्री यादवले उखु किसानको वक्यौता फिर्ता गर्न आफूले चिनी उद्योगीलाई धेरै पटक आग्रह तर उनीहरुले बेवास्ता गरेको सुनाउनु भयो । ‘उखु किसान मारमा पर्दै आएका छन् तर उद्योगीहरुले सरकारलाई नै टेरेका छैनन्’ उहाँले भन्नुभयो, ‘सरकारले गोरखकाली रबर उद्योग र हेटौंडा कपडा उद्योग सञ्चालनको वातावरण बनाइरहेको छ । थोरै लगानी गर्दा चल्न सक्ने अवस्थामा रहेका उद्योगहरु चलाएर उत्पादन बढाउने योजना छ ।’
प्रतिक्रिया