सन् २०१४ मा २८२ सिट जितेको भाजपालाई यसपालि ३०३ सिट, गठबन्धनको सिट ३४९
नयाँदिल्ली– भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भाजपा प्रभावशाली सुधारसहित पुनः विजयी भएको छ । सरकार बनाउन दुई सय ७२ सिट आवश्यक भए पनि भाजपा एक्लैले तीन सय सिट पार गरेको छ । त्यस्तै, भाजपाको गठबन्धन नेसनल डेमोक्र्याटिक अलाइन्स ९एनडिए०ले तीन सय ४९ सिट पुर्याएको छ ।
प्रतिपक्षी कंग्रेसले यो निर्वाचनमा पनि लज्जास्पद हार बेहोरेको छ । २०१४ को निर्वाचनमा ४४ सिट ल्याएको उसले यसपालि ५२ पुर्याएको छ । संविधानतः प्रमुख प्रतिपक्ष दलको मान्यता पाउन आवश्यक ५५ सिट पनि उसले जुटाउन सकेन । यसरी मोदी चुनौतीविहीन बनेका छन् । कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलाइन्स ९युपिए०को कुल सिट ८८ मात्र पुगेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
१६ राज्यमा कंग्रेस शून्य, राहुल गान्धीले समेत हारे
१३५ वर्ष पुरानो कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले आफ्नो पारिवारिक सिट अमेठीबाट हारेका छन् । उनलाई ५४ हजार सात सय ६७ मतको अन्तरले केन्द्रीय मन्त्री स्मृति इरानीले हराइन् । २००९ र २०१४ मा पनि स्मृतिले राहुललाई चुनौती दिएकी थिइन् । तर, उनको तेस्रो प्रयास सफल भयो । यसपालि राहुलले चार लाख १२ हजार र स्मृतिले चार लाख ६७ हजार मत पाए । तर, निर्वाचनअघि नै हारको अनुमान गरिसकेका राहुलले केरलाको वायनाडबाट भने ठूलो मतान्तरले जितेका छन् । वायनाडमा राहुलले सात लाख पाँच हजार मत प्राप्त गर्दा माकपाका पिपी सुनीरले दुई लाख ७३ हजार मत प्राप्त गरे । यसरी केरलामा चार लाख ३२ हजार मतान्तरले राहुलले जिते ।
भारतका कुल ३० मध्ये १६ राज्यमा कंग्रेस शून्य भएको छ । दिल्ली, हरियाणा, गुजरात, आन्ध्र प्रदेश, राजस्थान, हिमाञ्चल, उत्तराखण्ड, अरुणाञ्चल, उडिसा, त्रिपुरा, मणिपुर, मिजोरम, सिक्किम, चण्डिगढ, लक्ष्यदीप र अन्डेमाननिकोबरबाट कंग्रेसले प्रतिनिधित्व पाएको छैन ।
वामपन्थीहरूको बिदाइ : येचुरीको दललाई जम्मा १ सिट
भारतीय लोकसभा निर्वाचनले वामपन्थीहरूलाई लगभग पन्छाएको छ । ३५ वर्षदेखि पश्चिम बंगालमा चुनाव जित्दै आएको माक्र्सवादी कम्युनिस्ट पार्टी (माकपा)ले २०११ सम्म राज्य सरकारको पनि नेतृत्व गर्दै आएको थियो । २००९ को निर्वाचनसम्म केन्द्रीय गठबन्धनको किङ मेकरसमेत रहेको माकपाले २०१४ मा नौ सिट मात्र जितेको थियो । तर, यसपालि उसले बंगाल र त्रिपुराबाट सबै सिट गुमाएको छ । बंगालमा त्रिणमुल कंग्रेसले ४३.९% मतसहित २२ र भाजपाले ४०.२% मतसहित १८ सिट जितेका छन् । कंग्रेसले ५.६२% मतसहित २ सिट जितेको छ । तर, सीताराम येचुरीले नेतृत्व गरेको माकपाले बंगालमा ६.२९% मत पाएको छ । त्रिपुरामा १७.३३% मत पाएको माकपाले शून्य सिट पाएको छ । राज्यका दुवै सिट भाजपाले पाएको छ । उसको मत ४९.०१% छ ।
त्यस्तै, केरला राज्य सरकारमा सत्तारुढ दल सो पार्टीले २५.६९% मत ल्याएर पनि जम्मा एक सिटमा अग्रता लिएको छ । भारतभर उसले पाएको अग्रता यही हो । उता, ३७.२७% मतका साथ कंग्रेसले केरलामा १५ सिट जितेको छ । २० मध्ये बाँकी चार सिट पनि उसैका सहयोगीले पाएका छन् ।
प्रतिक्रिया