काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएको फेसबुक र भाइबर बैंकिङमा राष्ट्र बैंकले निगरानी बढाउने भएको छ । ती सञ्जालमार्फत बैंकिङ करोबार गर्दा ग्राहकको सूचना (डाटा) तेस्रो पक्षमा गएको आशंकाको आधारमा निगरानी बढाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।
फेसबुक र भाइबरमार्फत हुने बैंकिङ कारोबार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) को ‘बैंकिङ गोपनीयता’ व्यवस्थाविपरीत भएकाले सूक्ष्म रूपमा अध्ययन गरिने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । ‘हाल करिब डेढ दर्जन बैंक तथा वित्तीय संस्थाले भाइबर र केहीले फेसबुक बैंकिङ सञ्चालन गरेको जानकारी छ,’ स्रोतले भन्यो, ‘ती बैंकले कसरी तथ्यांक सुरक्षित गरेका छन् भन्ने बारेमा जानकारी लिएपछि तिनको वैधताबारे खोजिनेछ ।’
बढदो प्रतिस्पर्धासँगै बैंक तथा वित्तीय संस्थाले भाइबर र फेसबुकमार्फत ग्राहकलाई सीमित बैंकिङ कारोबार (आफ्नो खातामा रहेको रकमबारे जानकारी, मिनी स्टेटमेन्टलगायत सुविधा) गर्दै आएका छन् । भाइबरमार्फतको कारोबार एक(दुई वर्ष पहिलेदेखि भए पनि फेसबुकमार्फतको सेवा सुरु भएको धेरै भएको छैन । ती माध्यममार्फत सेवा सञ्चालन गर्दा ग्राहकको विवरण तेस्रो पक्ष (भाइबर र फेसबुक) को सिस्टममा जाने भएकाले कानुनविपरीत भएको राष्ट्र बैंकले दाबी गरेको छ ।
प्रतिक्रिया