गोलभेंडाको भाउ: ५ वर्ष यताकै उच्च

७ बर्ष अगाडि

गोलभेंडाको भाउ ५ वर्ष यताकै सबैभन्दा उच्च भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गोलभेंडाको मूल्यका विषयमा अध्ययन गरी तयार पारेको प्रतिवेदनले यस्तो देखाएको हो। जनवरीदेखि अप्रिलसम्म गोलभेंडा आयात पनि बढेको छ।

विभागले सन् २०१४ को मार्चदेखि २०१९ को अप्रिलसम्मको बजार अवस्थाबारे गरेको अध्ययनमा ५ वर्षको अवधिमा गोलभेंडाको मूल्य हाल सबैभन्दामाथि पुगेको निष्कर्ष निकालिएको छ। विभागले सरकारी स्वामित्वको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समिति र भन्सार विभागको प्रतिवेदनका आधारमा अध्ययन गरी प्रतिवेदन तयार पारेको छ। प्रतिवेदन विभागका महानिर्देशक योगेन्द्र गौचनलाई बुझाइसकिएको छ। मूल्य वृद्धिको कारण भने खुलाइएको छैन। यो समाचार राजेश बर्माले लेखेका हुन् ।

विभागका तथ्यांक अधिकृत मोहनकुमार पुडासैनीका अनुसार पछिल्लो ५ वर्षमा कुन समयमा कति माथिसम्म मूल्य पुगेको विषयमा मात्रै अध्ययन गरिएको हो। प्रतिवेदनअनुसार ५ वर्षको अवधिमा तीनपटक गोलभेंडाको मूल्य एक सय रुपैयाँभन्दा माथि पुगेको भेटिन्छ। प्रतिवेदनले असोजदेखि मंसिर १४ सम्ममा गोलभेंडाको मूल्य एक सय रुपैयाँभन्दा माथि पुगेको औंल्याएको छ।

५ वर्षमा चैतदेखि जेठ १ सम्ममा गोलभेंडाको मूल्य प्रतिकिलो ४० देखि ८०को बीचमा रहे पनि यो वर्षको जेठ पहिलो सातादेखि नै मूल्य उच्च विन्दुमा पुगेको अध्ययनमा खटिएका तथ्यांक अधिकृत पुडासैनीले जानकारी दिए।

व्यवसायीले भने मागअनुसार आन्तरिक र बाह्य क्षेत्रबाट आपूर्ति नहुँदा गोलभेंडा महँगिएको जानकारी दिएका छन्। व्यवसायी तथा तरकारी उत्पादक किसानका अनुसार वैशाखको सुरुदेखिनै असिनासहित ठूलो वर्षा भएका कारण तरकारीको बोट नष्ट भइ आन्तरिक उत्पादन कम भएको छ।

यहीबेला भारतमा विधानसभाको निर्वाचन भएकाले उताबाट पनि पर्याप्त परिमाणमा गोलभेंडा आयात नहुँदा स्वदेशी बजारमा मूल्य उच्च स्थानमा पुगेको उनीहरूको दाबी छ। गत वर्ष जेठ ५ गते गोलभेंडाको मूल्य ५० रुपैयाँ प्रतिकिलो कालिमाटी बजारमा खुद्रा मूल्य कायम थियो। अहिले कालिमाटी बजारमै खुद्रा मूल्य प्रतिकिलो एक सय ३० रुपैयाँ पुगेको छ। बाहिरी बजारमा यही गोलभेंडा एक सय ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

७ बर्ष अगाडि

प्रतिक्रिया