जागरण अभियानमा काङ्ग्रेस कार्यकर्ता पार्टी नेतृत्वप्रति आक्रोश

७ बर्ष अगाडि

नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानमा कार्यकर्ताले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् ।

मोरङको उर्लाबारीमा आइतबार आयोजित कार्यक्रममा सहभागी कार्यकर्ताले प्रदेश र सङ्घीय निर्वाचनको पराजय र त्यसपछि प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्दै कार्यकर्ताले नेतृत्वप्रति आक्रोश व्यक्त गरेका हुन् ।

काङ्ग्रेसका पूर्व जिल्ला सदस्य राधाकृष्ण पोख्रेलले काङ्ग्रेसभित्र ६०/४० को भागबण्डा के हो भन्दै नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई प्रश्न गरेका थिए ।

उनले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, नेता कृष्णप्रसाद सिटौलाको फरक–फरक गुट रहेसम्म काङ्ग्रेसले आगामी निर्वाचनमा पनि विजयी हासिल गर्न नसक्ने विचार राखे । उर्लाबारी–७ निवासी जयधर्म आचार्यले काङ्ग्रेसभित्र अहिले स्नेह र मित्रता नरहेको बताए ।

टङ्कनाथ दाहालले निर्वाचनको टिकट वितरण प्रणालीमा एकलौटी हुँदा काङ्ग्रेसले पराजय बेहोर्नुपरेको बताए । नेपाल महिला सङ्घका मोरङ क्षेत्र नं १ का सभापति गोमा नेपालले काङ्ग्रेसका नेता कार्यकर्तामा आफू आफूमा हार्दिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गरिन् । सोमप्रसाद तिम्सिनाले प्रमुख प्रतिपक्षीको भूमिका अहिले नेपाली मिडियाले गर्नुपर्ने अवस्था आएको धारणा राखे ।

७ बर्ष अगाडि

प्रतिक्रिया