आज बिहान काठमाडौंको टोखामा गोली चलेको छ । चोरीका आधा दर्जन अभियोग लागेका काले भनेर चिनिने विष्णु लामालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास भएपछि प्रहरीले गोली चलाएको हो ।
सिन्धुपाल्चोक घर भएका लामामाथि चोरी डकैतीका सात वटा उजुरी परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले बिहान टोखाबाट उनलाई पक्राउ गर्न खोज्दा लामाले प्रहरीलाई पेस्तोल तेस्र्याएपछि गोली चलाइएको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए ।
ढकालका अनुसार प्रहरीले चलाएको गोली लामाको कम्मर मुनि लागेको छ । उनको अहिले बीर अस्पतालमा उपचार भइरहेको छ । लामाको अवस्था सामान्य रहेको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जनाए । थापा केही दिन अघि मात्र महाशाखाको प्रमुखको जिम्मेवारीमा आएका थिए ।
प्रहरीका पूर्वएआइजी जयबहादुर चन्दको घरमा भएको लुटपाटमा लामाको संलग्नता रहेको आरोप लागेको थियो । उनले यसअघि डाँका मुद्धामै सात वर्ष जेल सजाय भोगेको खुलेको छ ।
प्रतिक्रिया