कन्हैया कुमार : मोदीविरोधी प्रतीक

७ बर्ष अगाडि

नयाँदिल्ली – भारतमा ११ अप्रिलदेखि सुरु भएको आमनिर्वाचन आज सातौँ चरणको मतदानसँगै समाप्त हुँदै छ । जारी निर्वाचनमा भारतको सबैभन्दा गरिब राज्यमध्येको एक बिहारको एउटा जिल्ला विगत केही सातादेखि सञ्चारमाध्यममा समाचारको विषय बन्दै आएको छ । यसको मुख्य कारण हो– प्रखर वक्ता तथा विद्यार्थी नेता कन्हैया कुमार बिहारको बेगुसुरी जिल्लाबाट जारी निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । चौथो चरणअन्तर्गत २९ अप्रिलमा उनी उम्मेदवार बनेको बेगुसुरी निर्वाचन क्षेत्रमा मतदान भएको थियो । आगामी २५ मेमा हुने मतगणनापछि उनको भाग्यको फैसला हुनेछ । धेरैले उनले जित्ने अनुमान गरेका छन् । भारतविरोधी नारा लगाएको भन्दै सरकारले कन्हैया कुमारलाई सन् २०१६ मा केही साता जेल राखेको थियो ।

पक्राउपछि चर्चामा

बिहारको बिहात गाउँमा १९८७ को जनवरी १३ मा जन्मिएका कन्हैया कुमार तीन वर्षअगाडि पक्राउ परेपछि चर्चामा आएका थिए । दिल्लीको जवाहरलाल नेहरू युनिभर्सिटीका तत्कालीन विद्यार्थी कन्हैयाले कलेजमा आयोजित एक कार्यक्रममा भारतविरोधी नारा लगाएका थिए । सन् २००१ मा भारतको संसद्मा आतंककारी हमलाका मुख्य दोषी मोहमद अफजल गुरुलाई झुन्ड्याइएको वार्षिकीमा आयोजित कार्यक्रममा उनीले भारतविरोधी नारा लगाएका थिए ।

देशद्रोहको आरोप

कन्हैया कुमारको पक्राउले हिन्दुवादी भारतीय जनता पार्टी ९भाजपा०का आलोचकलाई एउटा साझा एजेन्डा प्रदान गर्नुका साथै विद्यार्थीहरूले देशव्यापी प्रदर्शन गरेका थिए । भारत ब्रिटिसको उपनिवेश रहेको समयदेखि सक्रिय कानुनअन्तर्गत लगाइएको देशद्रोहको आरोप उनले अझै झेलिरहेका छन् । आफूमाथि लागेका आरोप झुटो प्रचारबाजी भएको उनको भनाइ छ । ‘प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधित्व गर्ने राजनीतिविरुद्ध कन्हैया कुमार एक प्रतीक बनेका छन्,’ सेन्टर फर दी स्टडी अफ डेभलपिङ सोसाइटीका निर्देशक सञ्जय कुमार भन्छन् । 

राजनीतिमा लाग्न बाध्य : कन्हैया कुमार

कन्हैया कुमारले अहिले विद्यावारिधि पूरा गरेका छन् । चौथो चरणअन्तर्गतको निर्वाचनमा बेगुसुरी क्षेत्रबाट उम्मेदवारी दिएसँगै उनी औपचारिक रूपमा राजनीतिमा होमिएका छन् । राजनीतिमा हाम फाल्नु आफ्नो रहर नभई बाध्यता भएको यी प्रखर वक्ताको भनाइ छ । उनी भन्छन्, ‘राजनीतिमा लाग्नु रहरभन्दा पनि बाध्यता हो ।’ उनी कम्युनिस्ट पार्टी अफ इन्डिया (सिपिआई) बाट उम्मेदवार बनेका छन् । तर, उनी उम्मेदवार बनेको पार्टी सिपिआईको प्रभाव पछिल्ला वर्षमा घट्दै गएको छ । ‘हाम्रो संविधानमा धर्मनिरपेक्षताबारे प्रस्ट उल्लेख गरिएको छ । भाजपाले कुनै खास धर्मलाई उचालेर राज्यको स्वरूप बदल्न खोज्छ भने त्यसको विरोध गर्नुपर्छ,’ उनी भन्छन् । 

सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनाउन खोजिरहेको छ । तसर्थ, जारी निर्वाचनलाई मोदीका लागि जनमतसंग्रहका रूपमा हेरिएको छ । सरकारले नयाँ रोजगारी सिर्जना गर्ने र किसानको समस्या सम्बोधन गर्ने प्रतिबद्धता पूरा नगरेको, भ्रष्टाचार मौलाएको, साम्प्रदायिक सद्भाव बिथोलेको कन्हैयाकुमारले आरोप लगाएका छन् । देशमा साम्प्रदायिक हिंसा बढ्दा सरकार मौन रहेको प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अन्य नेतामाथि आरोप लागेको छ ।नयापत्रिका दैनिकबाट ।

७ बर्ष अगाडि

प्रतिक्रिया